काठमाडौं । महानगर यातायात प्रा.लि.ले थानकोटदेखि धुलिखेलसम्मको नयाँ रुटमा सेवा सुरु गरेको छ। बिहीबार काठमाडौंमा एक कार्यक्रमको माध्यमबाट उक्त सेवा सार्वजनिक गरिएको थियो। यस क्रममा, महानगर यातायातले टाटाका थप ४० वटा नयाँ बसहरूको परिचालन शुरु गरेको छ। यससँगै, महानगर यातायातका बसहरूको संख्या ८९ पुगेको प्रा.लि.ले जनाएको छ। सिप्रदी ट्रेडिङ प्रा.लि.ले कार्यक्रमको अवसरमा उक्त बसहरूको चाबी महानगर यातायात प्रा.लि.लाई हस्तान्तरण गरेको हो।
नयाँ बसहरूको परिचालनसँगै, महानगर यातायातले काठमाडौँको चक्रपथ बाहेक अन्य गन्तव्यहरूमा पनि आफ्नो सेवा विस्तार गरेको छ। अब, काठमाडौँको चन्द्रागिरी, गोदाम र थानकोटदेखि काभ्रेपलाञ्चाकको बनेपा हुँदै धुलिखेलसम्मका रुटमा यात्रुहरूलाई सेवा दिनेछ। यसको साथै, महानगर यातायात प्रा.लि.ले आफूलाई पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण गर्ने निर्णय पनि गरेको जानकारी दिएको छ।

महानगर यातायातका उपाध्यक्ष सन्तोष खतिवडाले आगामी वर्षभरिमा ५० वटा विद्युतीय बसहरूको सञ्चालनमा ल्याउने तयारी रहेको बताए। उनले भने, “महानगरपालिकाले छिट्टै १० वटा विद्युतीय बसहरू सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ।” यस कदमले यातायात क्षेत्रमा नयाँ ऊर्जा ल्याउने र वातावरणीय प्रभावलाई कम गर्ने लक्ष्य राखिएको छ।
प्रतक्ष्य रुपमा उक्त बसमा भएका चालक ,सहचालक तथा यात्रुहरुको अनुसार उक्त बस थानकोटको चन्द्रागिरीदेखि कलंकी, बसपाक ,चक्रपथ, कोटेश्वर, भक्तपुर हुँदै धुलिखेलसम्म जाने रहिछ। रामेछाप घर भै काठमाडौँको गुर्जुधारामा बस्दै आउनु भएको चालक बिक्रम बोहोराको अनुसार यातायात संचालन गर्नुभयो राम्रो भयो तर उक्त यातायात सेवा चक्रपथ रुट सहित बल्खुको रुटबाट संचालन गर्दा धेरै यात्रुहरुलाई सहुलियत हुने गुनासो पोख्नु भयो ।

बोहोराको अनुसार चन्द्रागिरीदेखि धुलिखेलसम्म र धुलिखेलदेखि चन्द्रागिरीसम्म बस ५ मिनेटको अन्तरालमा छुट्ने छ। यात्रा तथा रुट लामो भए पनि यात्रा गर्दा रमाइलो अनुभव हुने जानकारी दिनु भएको छ । उहाको अनुसार ओहोर दोहोर गर्न करिब ५ देखि ६ घण्टा लाग्ने रहिछ ,जामले गर्दा तथा नयाँ रुट भएकाले बिस्तारै ठाउठाउमा रोक्दै यात्रुहरुलाई चढाउने र झार्ने गर्दा ।