काठमाडौंमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले पाकिस्तान सरकारसँग नेपालमा व्यावसायिक गतिविधि बढाउन आग्रह गरेका छन्। नेपालका लागि पाकिस्तानी राजदूत अब्रार एच हश्मीसँग भएको शिष्टाचार भेटमा मन्त्री भण्डारीले नेपालले सबै मुलुकसँग व्यापारिक सहकार्यलाई प्रवर्द्धन गर्ने लक्ष्य राखेकाले पाकिस्तानसँग पनि यस क्षेत्रमा सहकार्य आवश्यक रहेको बताए।
नेपालको संघीय संसद्ले नेपाल–पाकिस्तान संसदीय मैत्री समूह गठन गरेको जानकारी दिँदै मन्त्री भण्डारीले यस कदमले दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। उनले दुई राष्ट्रबीच स्थापित अर्थमन्त्रीस्तरको संयुक्त आर्थिक आयोग र विदेश सचिवस्तरको द्विपक्षीय राजनीतिक परामर्श संयन्त्रका माध्यमबाट निरन्तर संवाद र सम्पर्क आवश्यक रहेको उल्लेख गरे।
मन्त्री भण्डारीले नेपालमा आयोगको सातौँ बैठक र परामर्श संयन्त्रको पाँचौँ बैठक आयोजना गर्न तयारी भइरहेको जानकारी दिए। उनले निकट छिमेकी राष्ट्र नेपाल र पाकिस्तानबीच अपेक्षाकृत व्यापारिक सहकार्य नदेखिएको उल्लेख गर्दै यसलाई प्रवर्द्धन गर्न दुवै देशले व्यापार सहजीकरण गर्ने र ‘लजिस्टिक’ चुनौतीहरूको समाधानतर्फ विशेष ध्यान दिनुपर्ने बताए।
द्विपक्षीय व्यापार र आर्थिक क्षेत्रको निर्भरतालाई बढाउन नेपाल र पाकिस्तानले आपसी सहकार्यलाई अझ प्रभावकारी बनाउनुपर्ने र यसले दुवै राष्ट्रको आर्थिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरियो।