भेरी करिडोर स्तरोन्नतिका लागि ४ अर्ब २० करोड बजेट सुनिश्चित, निर्माणले गति लिने

भेरी करिडोर स्तरोन्नतिका लागि ४ अर्ब २० करोड बजेट सुनिश्चित, निर्माणले गति लिने

सुर्खेत। कर्णाली प्रदेशको रणनीतिक महत्व बोकेको भेरी करिडोर सडक स्तरोन्नतिका लागि अर्थ मन्त्रालयले ४ अर्ब २० करोड बजेट सुनिश्चित गरेको छ। नलगाड नगरपालिका–१२ तल्लुदेखि डोल्पाको त्रिपुराकोटसम्मको सडक स्तरोन्नतिका लागि यो बजेट विनियोजन गरिएको हो।

भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको अनुरोधमा अर्थ मन्त्रालयले बजेट सुनिश्चित गरेको प्रतिनिधिसभा सदस्य तथा पूर्व सहरी विकासमन्त्री धनबहादुर बुढाले जानकारी दिए। लामो समयदेखि बजेट अभावले रोकिएको करिडोर निर्माण कार्यले अब गति लिने उनले बताए। कुल २१७ किलोमिटर लम्बाइ रहेको भेरी करिडोरमध्ये जाजरकोट–डोल्पा सदरमुकाम दुनैसम्म ११८ किलोमिटर रहेको छ। हाल जाजरकोटदेखि तल्लुसम्म ६२ किलोमिटर खण्डको स्तरोन्नति भइरहेको छ भने अब तल्लु–त्रिपुराकोटसम्म ४२ किलोमिटर सडक स्तरोन्नति गरिनेछ।

बजेट सुनिश्चित भएसँगै नेपाली सेनाले ट्र्याक खोलेको उक्त सडकमा नयाँ ठेक्का आह्वान गरी स्तरोन्नति कार्य अघि बढाइने भेरी करिडोर आयोजना प्रमुख सुनिल रञ्जितकारले जानकारी दिए। पूर्वमन्त्री बुढाका अनुसार पुल निर्माणका लागि पनि बजेट सुनिश्चित गर्ने तयारी भइरहेको छ। हाल बेलिब्रिज रहेका स्थानमा पक्की पुल निर्माण गर्ने लक्ष्य लिइएको छ।

भेरी करिडोर त्रिदेशीय सडकका रूपमा विकास गर्ने लक्ष्य रहे पनि केही खण्डमा निर्माण कार्य ढिलाइ भएको छ। दुनै–लासिक्याप खण्डमा ठेकेदार कम्पनी सूर्य–श्रेया–शान्तिदेवी जेभी काठमाडौंले १३ करोड ४२ लाखमा ठेक्का लिए पनि एक वर्ष म्याद बाँकी रहँदा मात्र १५ प्रतिशत काम सम्पन्न भएको छ। यसैगरी, जाजरकोट–डोल्पा सडक खण्डका पुल निर्माणको ठेक्का क्याराभान हिराचन जेभीले लिए पनि काम सुरु नगरेको गुनासो छ।

नेपाल सरकार, भौतिक पूर्वाधार मन्त्रालय, र नेपाली सेनाले भेरी करिडोरको निर्माण कार्यलाई तीव्रता दिने प्रतिबद्धता जनाएका छन्। स्थानिय तह तथा सरोकारवालाहरूले समेत ठेकेदार कम्पनीलाई समयमै काम सम्पन्न गर्न दबाब दिएका छन्।

यो पनि …..

गण्डकी,कर्णाली र सुदूरपश्चिममा चट्याङसहित पानी पर्ने सम्भावना

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *