काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशी सुरक्षित रहेको र चाँडै नेपाल फर्किनेमा आफू विश्वस्त रहेको बताएकी छन्।
सोमबार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै उनले विपिन जोशीको उद्धारका लागि नेपाल सरकारले कूटनीतिक तहमा आवश्यक पहल गरिरहेको स्पष्ट पारिन्।
उनले भनिन्, “विपिन भाइ सकुशल हुनुहुन्छ। उहाँ चाँडै फर्केर आउनुहुन्छ भन्नेमा ढुक्क छु। हामीले निरन्तर पहल गरिरहेका छौं। मैले कतारका राजदूतसँग फोनमा कुरा गरें, उहाँले कतारका परराष्ट्रमन्त्रीसँग कुरा गराउने आश्वासन दिनुभएको छ।”
इजरायल अध्ययनका लागि गएका विपिन जोशी हमासको नियन्त्रणमा रहेको आशंका गरिएको छ। नेपाल सरकारले उनको सकुशल उद्धारका लागि कतारमार्फत कूटनीतिक प्रयास जारी राखेको छ। अन्य नेपाली विद्यार्थीहरू स्वदेश फर्किइसकेका छन् भने विपिन अझै अज्ञात रहेका छन्।
इजरायल–प्यालेस्टाइन युद्धविरामका लागि कतारले मध्यस्थता गरिरहेको छ। यसै सन्दर्भमा नेपाल सरकारले पनि कतार सरकारमार्फत विपिन जोशीको सुरक्षित उद्धारका लागि पहल गरिरहेको छ।