नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाका विद्यालयमा सहकारी शिक्षा कार्यक्रम सुरु भएको छ। उपमहानगरपालिका क्षेत्रका छ विद्यालयका विद्यार्थीलाई लक्षित गरी यो कार्यक्रम सुरु गरिएको हो।
उपमहानगरपालिकाका पञ्जीकरण तथा सहकारी शाखाका प्रमुख प्रवीण रानाले बुधबार महेन्द्र उच्च माध्यमिक विद्यालयमा कक्षा ११ र १२ का विद्यार्थीलाई सहकारी शिक्षा दिएर अभियानको थालनी गरेका हुन्। उनका अनुसार महेन्द्र मावि, आदर्श मावि, मंगलप्रसाद मावि, धम्बोझी मावि, सरस्वती, र जयजनता माविमा सहकारी शिक्षा कार्यक्रम सञ्चालन हुनेछ।
‘सहकारीको अवधारणा, दर्ता प्रक्रिया, र हाल देखिएका समस्याबारे जानकारी दिन विद्यार्थीमार्फत अभिभावकलाई पनि सचेत गराउने हाम्रो उद्देश्य हो,’ रानाले भने।
सहकारी शिक्षासँगै उपमहानगरपालिकाले सहकारीलाई व्यवस्थित बनाउन सूचना प्रविधि तालिमको पनि आयोजना गरेको छ। दुई दिने तालिममा साइबर सुरक्षा, सफ्टवेयर प्रयोग, र डिजिटल फर्म्याटका विषयमा सहभागीलाई प्रशिक्षित गरिएको छ। अघिल्लो वर्ष २४ विद्यालयका प्रतिनिधिको सहभागितामा सहकारी शिक्षा कार्यक्रम सम्पन्न गरिएको थियो।