काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीले फराकिलो हार व्यहोरेको छ । शनिबार राति भएको खेलमा सिटीलाई उसैको मैदानमा टोटनहाम हटस्परले ४-० गोलअन्तरले हराएको हो ।
टोटनहामको जितमा जेम्स म्याडिसनले दुई गोल गरे भने पेड्रो पोरो र ब्रेनान जोनसोनले एक-एक गोल गरे । दुवै हाफमा दुई-दुई गोल भए ।
खेलको १३औं मिनेटमा म्याडिसनले गोल गर्दै टोटनहामलाई अग्रता दिलाएका थिए । २०औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै उनले टोलीको अग्रता दोब्बर पारे ।
दोस्रो हाफको ५२औं मिनेटमा पोरोले गोल गर्दै टोटनहामलाई ३-० को अग्रता दिलाउँदा इन्जुरी समयमा जोनसोनले गोल गरेपछि टोटनहाम ४-० ले विजयी भयो ।
यस हारपछि सिटी १२ खेलमा २३ अंक जोड्दै दोस्रो स्थानमा यथावत् छ भने एक खेल कम खेलेको शीर्षस्थानको लिभपरपुलसँग ५ अंकको दूरी भइसकको छ । जितपछि टोटनहाम भने १९ अंकसहित छैटौं स्थानमा उक्लिएको छ ।
जारी सिजन सिटीको यो लगातार पाँचौं हार हो । सिटीले ईएफएल कप र च्याम्पियन्स लिगमा एक-एक खेलसहित प्रिमियर लिगमा लगातार तीज हार व्यहोरेको हो ।
खराब फर्मका बीच प्रशिक्षक पेप ग्वार्डिओलाको सम्झौता भने आगामी २ वर्षका लागि नवीकरण गरिएको छ ।