रसुवा, भदौ ३ः जनैपूर्णिमाका दिन रसुवाको गोसाइँकुण्ड तीर्थयात्रामा नुवाकोटतर्फको पदमार्ग हुँदै जाने तीर्थयात्रीहरूको संख्या यस वर्ष उल्लेख्य रूपमा वृद्धि भएको छ। विगतका वर्षमा करिब दुई हजार तीर्थयात्री यस मार्गबाट यात्रा गर्ने गर्थे भने यसवर्षको आज बिहानसम्म तीन हजारभन्दा बढी तीर्थयात्री नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ फेदी हुँदै गोसाइँकुण्डतर्फ प्रस्थान गरेका छन्।
लाङ्टाङ गोसाइँकुण्ड हेलम्बु होटल व्यवसायी सरोकार समितिका उपाध्यक्ष पेम्बा लामाका अनुसार, रसुवाको धुञ्चे हुँदै जाने पदमार्गको विकल्पका रूपमा नुवाकोटको फेदी हुँदै विस्तार गरिएको पदमार्गबाट यात्रा गर्ने तीर्थयात्रीहरूको आगमन यसवर्ष उत्साहजनक रूपमा बढेको हो। तीर्थयात्राका लागि बासस्थान, सुरक्षा, र अन्य आवश्यक प्रबन्ध मिलाइएको छ।
नुवाकोटको घ्याङ्फेदी हुँदै गोसाइँकुण्ड तीर्थयात्रामा नुवाकोटतर्फको पदमार्गमा धार्मिक तथा पर्यटकीय महत्वको सूर्यकुण्ड पनि पर्दछ। यस पदमार्गबाट यात्रा गर्दा तीर्थालुहरूले सूर्यकुण्ड र गोसाइँकुण्ड दुबै स्थानमा स्नान गर्ने अवसर पाउनेछन्। पदमार्गको स्तरोन्नति र सुविधासम्पन्न गेष्ट हाउस तथा होमस्टेहरू निर्माणसँगै यो यात्रा अझै सहज भएको छ।
गोसाइँकुण्डमा जनैपूर्णिमाका अवसरमा लाग्ने मेलामा यस वर्ष नुवाकोट र रसुवाका विभिन्न मार्गहरूबाट करिब १५ हजार तीर्थालु सहभागी हुने अनुमान गरिएको छ। गोसाइँकुण्ड हिन्दू र बौद्धमार्गीहरूको पवित्र तीर्थस्थल हो, जहाँ शिवशङ्करले त्रिशूलले खोपेर गङ्गाजल निकालेर गोसाइँकुण्ड निर्माण गरेको पौराणिक किंवदन्ती छ।