लालबन्दी : सर्लाहीको ईश्वरपुर नगरपालिका बयलबासबाट २०० बोरा अवैध चिनीको ट्रकसहित एक जना पक्राउ परेका छन्।
आइतबार दिउँसो साढे १ बजे इलाका प्रहरी कार्यालय केशरगंजको टोलीले नगरपालिकाको वडा नम्बर ५ सखुबनी टोल बयलबासबाट सिन्धुलीतर्फ जाँदै गरेको मिनीट्रक, त्यसमा लोड गरिएको चिनी र चालक ताप्लेजुङ आठराई त्रिवेणी गाउँपालिकाका-२ फूलबारी टोल बस्ने ३७ वर्षीय झलक लिम्बूलाई नियन्त्रणमा लिएको हो।
बागमती प्रदेश०३-००१ख १६०० नम्बरको ट्रकलाई शंका लागि प्रहरीले रोकी चेकजाँच गर्दा उक्त ट्रकभित्र बिल बिजक नमिलेको लुकाई छिपाइ २०० बोरा चिनी (प्रतिबोरा ५० केजी) सहित लिम्बूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको हो।
नियन्त्रणमा लिइएका लिम्बूलाई आइतबारै आवश्यक अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले बताएको छ।