काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले नेपालमा मनसुनी वायुको प्रभाव रहेको जनाएको छ।
मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ अवस्थित रहेको हुँदा, नेपालभर साधारणतया बदलीको स्थिति रहेको छ। हाल कोशी, मधेश, बागमती, गण्डकी प्रदेशका केही स्थानमा र लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसोनेपालमा मनसुनी वायुको प्रभाव रहने र अधिकांश प्रदेशका धेरै स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ।
विशेष गरी कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा ठूलो वर्षा हुने सम्भावना छ, जसमा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा अत्यधिक वर्षा हुने सम्भावना छ।
आज राति पनि देशभर साधारणतया बदली रहने र धेरै स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ।
आगामी २४ घण्टामा देशभरका केही स्थानमा ठूलो वर्षा हुने र बागमती, गण्डकी, लुम्बिनी प्रदेशका एकदुई स्थानमा धेरै ठूलो वर्षा हुने सम्भावना रहेकाले, महाशाखाले गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्राकृतिक प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ।