काठमाण्डौः मौसम पूर्वानुमान विभागले देशका विभिन्न जिल्लामा रहेका नदीमा पानीको बहाव बढ्ने चेतावनी दिएको छ।
विभागका अनुसार, सिन्धुपाल्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, पाल्पा, स्याङ्जा, गुल्मी, अर्घाखाँची, नवलपरासी (ब. सु. पूर्व), नवलपरासी (ब. सु. पश्चिम), रुपन्देही, कपिलवस्तु लगायतका जिल्लामा स-साना नदीहरूमा बहाव बढ्ने र आकस्मिक बहावको उच्च जोखिम रहेको छ।
विष्णुमती नदीको गोङ्गबु जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेको हुँदा नदी तटीय क्षेत्र आसपास बसोबास गर्ने र सो नदी किनार भएर यात्रा गर्नेहरूले दिउँसो २ बजेसम्म उच्च सतर्कता अपनाउन भनिएको छ।
ललितपुरस्थित खोड्कु खोला झरुवारासि जलमापन केन्द्रमा पनि हालको जलसतह सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेको हुँदा बाढीको जोखिमले गर्दा सतर्क रहन आग्रह गरिएको छ।
मेलम्ची, बागमती, विष्णुमती, धोबी खोला, हनुमन्ते खोला, कालिगण्डकीका सहायक नदीहरू, तिनाउ, बाणगंगा, कञ्चनखोला, दानो खोला लगायतका अन्य स-साना नदीहरूमा नदीमा पानीको बहाव बढ्ने सम्भावना रहेको हुँदा उच्च सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।
नदी तटीय क्षेत्रमा बसोबास गर्ने र यात्रा गर्ने सबैलाई सुरक्षित स्थानमा रहने र तत्काल आपतकालीन योजना अपनाउने सल्लाह दिइएको छ।