काभ्रेपलान्चोकको पनौती नगरपालिका–३ कुशादेवीमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सहयोगमा आलुको ब्राण्डिङ र प्याकेजिङ सुरु गरिएको छ। स्थानीय स्तरमा उत्पादित आलुको गुणस्तरीयतालाई प्रचारप्रसार गर्दै जिल्लालाई आलु सुपर जोनका रूपमा चिनाउन यो पहल गरिएको हो। हाल दुई किलो, तीन किलो, र पाँच किलो तौलमा आलुको प्याकेजिङ भइरहेको छ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (सुपर जोन) को आर्थिक सहयोगमा भण्डारण कक्ष निर्माणसहित प्याकेजिङ थालिएको हो। परियोजनाले पहिलो चरणमा रु १४ लाख सहयोग गरेको थियो। भविष्यमा प्याकेजिङको परिमाण बढाउने योजना बनाइएको छ।
आलु सुपर जोन समन्वय समितिका प्रमुख सुमन नेपालले काभ्रेको आलुको गुणस्तरको प्रशंसा गर्दै उपभोक्तालाई ढुक्क भएर किन्न आग्रह गरेका छन्। ब्राण्डिङ र प्याकेजिङ कार्यक्रमले अन्य व्यावसायिक कृषकलाई पनि उत्प्रेरणा मिलेको पाइएको छ।