सर्लाहीका हरि उप्रेती एमाले केन्द्रीय सदस्य मनोनित, मधेशबाट चार जना थपिए –

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्ट (एमाले) ले रिक्त रहेको उपाध्यक्ष पदलगायत केन्द्रीय कमिटी र प्रदेश इन्चार्ज हेरफेर गरेको छ।

आज बसकेको सचिवालय बैठकले उपाध्यक्षमा गुरु बराललाई मनोनित गर्ने निर्णय गरेसँगै अन्य पदहरूमा पनि हेरफेर गरेको हो।

महासचिव शंकर पोखरेलले जानकारी दिएअनुसार उपाध्यक्ष सुवासचन्द्र नेम्बाङको निधनपछि रिक्त भएको पदमा बराललाई मनोनित गरिएको हो।

यस्तै मुकुन्द न्यौपाने र लीलानाथ श्रेष्ठलाई स्थायी कमिटीमा मनोनीत गर्ने निर्णय पनि एमालेले गरेको छ।

सत्र जना केन्द्रीय सदस्यमा मनोनीत, मधेशका चार जना परे

महासचिव पोखरेलले बैठकले पार्टी प्रवेश, महिला र विभिन्न जनवर्गीय सङ्गठनबाट १७ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको जानकारी दिए। उनका अनुसार सुवास कर्माचार्य (सिन्धुपाल्चोक), कुन्दन कुशवाह (रौतहट), जितेन्द्र देव (सप्तरी), रामप्रीत पासवान (सिरहा), कृष्णभक्त पोखरेल (चितवन), कमलकृष्ण तिमिल्सिना (अछाम) र गोविन्द पुन (सल्यान) छन्।

यस्तै, केदार सिग्देल (तनहुँ), मनमोहन पौडेल (पर्वत), हरदेव जोशी (दार्चुला), हरि उप्रेती (सर्लाही), इन्द्र भण्डारी (झापा), महेश बर्तौला (मकवानपुर), सरिता भुसाल–किसान महासङ्घ, प्रभा बराल (कास्की), मञ्जु शर्मा चालिसे (बागलुङ) र आशा जवेगु (पाँचथर) रहेका छन्।

प्रदेश इन्चार्ज पनि हेरफेर

यस्तै, एमालेले प्रदेश इन्चार्ज पनि हेरफेर गरेको छ।

महासचिव पोखरेलका अनुसार शेरधन राईलाई कोशी प्रदेश, लीलानाथ श्रेष्ठलाई मधेश प्रदेश, डा. राजन भट्टराईलाई बागमती प्रदेश, किरण गुरुङलाई गण्डकी प्रदेश, पद्मा अर्याललाई लुम्बिनी प्रदेश, गोरखबहादुर बोगटीलाई कर्णाली प्रदेश र लेखनाथ भट्टलाई सुदूरपश्चिम प्रदेश इन्चार्ज तोकिएको छ।

यस्तै, बैठकले निर्वाचन आयोग र सल्लाहकार परिषद्मा पनि मनोनीत गरेको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *