काठमाडौं । पशुपति क्षेत्रमाआयोजित कोटिहोम महायज्ञमा नयाँ कथावाचिका चन्द्रकला सखीको आगमन भएको छ । लण्डनबाट राम कथा वाचनको लागि आएकी सखीलाई मानव सेवा फाउन्डेसनका अध्यक्ष विजय कृष्णमूर्तिलगायतले भव्य स्वागत गरे ।
सखीले साउन १६ देखि २४ गतेसम्म दिउँसो २ देखि ७ बजेसम्म राम कथा वाचन गर्नेछिन्।उनी नेपालकी पहिलो महिला रामचरितमानस र भक्तमाल कथा वाचिकाका रूपमा परिचित छिन् ।
महायज्ञमा महिला वाचिकाहरूको उल्लेखनीय सहभागिता रहेको छ । राधिका दासी र देवी प्रतिभापछि चन्द्रकला सखी तेस्रो महिला वाचिका हुन् ।
श्रीमद्भागवत कथा पुराण प्रवक्ता वाल योगेश्वर श्री विजय कृष्णमुर्तीका अनुसार मानव सेवा फाउन्डेसनलगायत झन्डै एक दर्जन संघ–संस्थाको आयोजनामा कोटी होम आयोजना गरिएको हो ।
पुरुष प्रधान धर्ममा महिला वाचीकाको वर्चस्व
महायज्ञ साउन १ गते बिहान ११ बजेदेखि भएको थियो।महिना दिन चल्ने महायज्ञमा महिला वाचिकहरू प्रशस्त छन्।
राधिका दासी र देवी प्रतिभाले वाचन गरेका छन्।अब तेस्रो महिला वाचिका चन्द्रकला सखी पनि थपिएका हुन् ।
हिन्दू धर्मग्रन्थका विभिन्न कथा पुरुषलाई प्रधान मानेको छ।केही अघि पुरुषहरूकै कथा वाचक हुन्थे।तर त्यो परम्परा तोड्नै महिला वाचिका पनि एकपछि अर्को गर्दै आएका छन् ।
नेपालमा अरू क्षेत्रमा महिलाको सहभागिता न्यून देखिन्छ।राजनीतिदेखि सामाजिक क्षेत्रमा महिलालाई कम स्थान दिइन्छ ।
स्थानीय तहदेखि केन्द्रसम्म हुने विभिन्न महोत्सव, विचार गोष्ठी वा सम्मेलनहरूमा महिलाको आवाजलाई ठाउँ नदिइएको वा दिइए पनि कम महत्त्वका साथ दिने गरिएको भन्दै बारम्बार प्रश्न उठिरहन्छ ।
कतिपय क्षेत्रमा शून्य रहेको अवस्थामा पशुपति कोटीहोममा भने महिला वाचिकाहरूको वर्चस्व देखिएको छ ।
आलोचना खेपेर फर्किइन् देवी प्रतिभा
कोटीहोमबाट भारतबाट आएकी देवी प्रतिभा भने प्रशंसाभन्दा आलोचना बढी खेपेर फर्किइन् । उनले आफ्नो धारा प्रवाह वाचनमा महिलाहरूलाई ‘पति जस्तो भए पनि विवाह गरेपछि डिभोर्स गर्न नहुने’ बताएपछि आलोचना भएको थियो ।
उनले उमेरमा बुढो, जतिसुकै खराब भए पनि पति धर्म छोड्नुहुन्न र सम्बन्ध विच्छेद गर्नुहुन्न भन्दै तर्क दिइन्, ‘हिन्दू धर्ममा सम्बन्ध विच्छेद शब्द नै छैन ।’
नेपालकै काभ्रे घर भएकी उनी भारतमा बस्छिन् ।उनले अनावश्यक रबाफ देखाएको भन्दै आलोचना पनि भयो ।
हिँडडुल गर्दा मात्र होइन, ब्यासमा बसेर कथा वाचन गर्दासमेत बडीगार्डले दायाँबायाँ पहरा दिइरहेका देखिएपछि ‘नौटङ्की रवाफ’ देखाएको भन्दै आलोचना भएको थियो ।