गत आर्थिक वर्षमा पर्सा जिल्लामा दुई सय ३२ साना तथा घरेलु उद्योग खारेज भएका छन्। आर्थिक सङ्कटको कारणले उद्योगलाई निरन्तरता दिन नसकेपछि पर्सामा साना तथा घरेलु उद्योग सञ्चालकहरूले उद्योग खारेजी गराउन थालेका हुन्। घरेलु तथा साना उद्योग कार्यालय पर्साका प्रमुख उद्योग अधिकृत धनञ्जयकुमार सिंहका अनुसार, “आर्थिक मन्दीका कारण थलापरेका साना तथा घरेलु उद्योग बन्द हुने क्रम बढेको छ।”
यो स्थिति आउने एउटा मुख्य कारण सरकारको आव २०८१/८२ को बजेट वक्तव्यसँगै ल्याएको आर्थिक विधेयक पनि हो, जसमा वर्षांैदेखि नवीकरण नगर्ने साना तथा घरेलु उद्योग खारेजीमा २५ प्रतिशत छुट दिने प्रावधान गरिएको थियो। यो प्रावधानले गर्दा धेरै उद्योग खारेजीमा परेका छन्। साथै, साना तथा घरेलु उद्यमीलाई सहज रूपमा बैंक तथा वित्तीय संस्थाबाट कर्जा प्राप्त नगर्दा पनि समस्या भइरहेको छ।
हालको आर्थिक मन्दीले अर्थतन्त्रलाई शिथिलता तर्फ धकेलेको छ, जसको कारण पर्सामा साना तथा घरेलु उद्योग मारमा परिरहेका छन्। यो स्थितिलाई सुधार गर्न राज्यले साना तथा घरेलु उद्योगलाई प्रोत्साहन गर्ने वातावरण बनाउन आवश्यक रहेको बताइएको छ। आव २०७९/८० मा पर्सा जिल्लामा एक सय ७७ वटा साना तथा घरेलु उद्योग खारेजीमा परेका थिए।