नेपाल खुद विद्युत निर्यातकर्ता मुलुक बनेको छ:यस्तो छ निर्यात

नेपाल खुद विद्युत निर्यातकर्ता बनेको छ:१६ अर्ब ९३ करोड रुपैयाँको निर्यात

काठमाडौंः नेपाल खुद विद्युत निर्यातकर्ता मुलुक बनेको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार आर्थिक वर्ष २०८०/८१ मा नेपालले १६ अर्ब ९३ करोड रुपैयाँको विद्युत भारततर्फ निर्यात गरेको छ। गत आवमा नेपालले १६ अर्ब ८१ करोड ३ लाख रुपैयाँको विद्युत आयात गरेको थियो, जसबाट नेपाल खुद निर्यातकर्ता बन्न सफल भएको प्राधिकरणले जनाएको छ। नेपाल विद्युत प्राधिकरणले गत आवको साउनदेखि असारसम्म १ अर्ब ९४ करोड २६ लाख युनिट विद्युत भारतर्फ निर्यात गरेको छ।

प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) को डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिश्पर्धी दरमा र मध्यकालीन विद्युत सम्झौताबमोजिम भारतीय कम्पनी एनटीपीसी विद्युत व्यापार निगम लिमिटेड (एनवीवीएन) लाई बिक्री गरिरहेको छ। एनवीवीएनले उक्त विद्युत हरियाणा राज्यमा बिक्री गरिरहेको छ। नेपाल खुद विद्युत निर्यातकर्ता भएपछी निर्यात गरिएको विद्युतको औसत दर प्रति युनिट ८ रुपैयाँ ७२ पैसा पुगेको छ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आगामी केही वर्ष अझै हिउँदका केही महिनाको आन्तरिक माग व्यवस्थापन गर्न विद्युत आयात गर्नु परेपनि अब नेपाल खुद विद्युत निर्यातकर्ता हुनेछ। “६/७ वर्षअघिसम्म विद्युत आयातकर्ताको मात्र अवस्था थियो, ३ वर्षअघिबाट भारतीय प्रतिस्पर्धी बजारमा विद्युत निर्यात सुरु गरेतापनि निर्यातभन्दा आयात बढी भई खुद आयातकर्ता बन्ने अवस्था थियो, अब गत आवबाट खुद आयातकर्ताबाट निर्यातकर्ता बन्ने अवस्था बनेको छ। थोरै परिमाणमा खुद निर्यातकर्ता भएतापनि यो महत्वपूर्ण उपलब्धी हो, ऊर्जा क्षेत्रका लागि एउटा कोशेढुङ्गा हो,” कार्यकारी निर्देशक घिसिङले भने।

नेपालले भारतको इनर्जी एक्सचेन्जको डे अहेड मार्केटमा सन् २०२१ मे १ मा प्रवेश पाएको थियो। सुरुमा विद्युत आयात अनुमति पाएको नेपालले सन् २०२१ नोभेम्बर ३ मा निर्यातकर्ताको रुपमा पनि प्रवेश पाएको थियो। हाल नेपालले मिडियम टर्म, डे अहेड र रियल टाइम मार्केटमा दैनिक करिब ७ सय मेगावाट विद्युत भारतमा बिक्री गरिरहेको छ। प्राधिकरणले १६ वटा आयोजनाहरुबाट उत्पादित ६९० मेगावाट विद्युत निर्यात अनुमति पाएको हो।

नेपाल खुद विद्युत निर्यातकर्ता मुलुक बनेको छ:यस्तो छ निर्यात
0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *