लुम्बिनी सरकारमा नेपाली कांग्रेसका ५ मन्त्रीको सहभागिता

लुम्बिनी सरकारमा कांँग्रेसबाट पाँच जना मन्त्री बन्दै , एक बाहेक सबै नयाँ अनुहार

नेपाली कांग्रेसले दलका प्रमुख सचेतक जन्मजय तिमिल्सिनाको नेतृत्वमा लुम्बिनी सरकारमा सहभागीता जनाउने भएको छ। लुम्बिनी सरकारमा नेपाली कांग्रेसका पाँच जना मन्त्रीलाई पठाउन लागेको हो। लामो छलफलपछि कांग्रेसले बर्दियाका जन्मजय तिमिल्सिना, गुल्मीका धनेन्द्र कार्की, प्यूठानका सरोज थापा, दाङका प्रचण्डविक्रम न्यौपाने, बाँकेका बादशाह कुर्मीलाई मन्त्री बनाउने निर्णय गरेको हो।

लुम्बिनी सरकारमा नेपाली कांग्रेसका सहयोगमा एमालेका चेतनारायण आचार्य सोमबार नै मुख्यमन्त्री नियुक्त भइसकेका छन्। दुवै दलले मन्त्री छान्न ढिलाइ गरेपछि आचार्यले दुई दिनपछि आज मात्र शपथ लिन लागेका छन्। एमालेले पनि चार मन्त्रीको नाम टुंगो लगाएको छ। मन्त्रीको नाम टुंगो लागे पनि कुन मन्त्रालय लिने भन्ने विषयमा दुई दल अझै निष्कर्षमा पुग्न नसकेकाले सबै मन्त्रीले बिनाविभागीय मन्त्रीका रुपमा शपथ लिने भएका छन्।

मुख्यमन्त्री आचार्यले भोलिसम्ममा सबै मन्त्रीलाई मन्त्रालयको जिम्मेवारी दिइने बताएका छन्। कांग्रेसबाट अहिले मन्त्री बनाइएका मध्ये सरोज थापा मात्रै यसअघि मन्त्री बनेका हुन् भने अरु सबै नयाँ अनुहार हुन्।

0Shares