सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल-पाल्पा सडकखण्डमा अनिश्चितकालसम्म राति सवारी साधन चलाउन रोक लगाइएको छ। स्थानीय प्रशासनले पाल्पाको तिनाउ गाउँपालिकाको हिउँदे खोलामा सडक भासिएको भन्दै सम्भावित क्षतिबाट जोगाउन यो निर्णय लिएको हो।
साउन ९ गते बुधबार बेलुका ७ देखि बिहान ६ बजेसम्म अर्को सूचना नभएसम्म बुटवल-पाल्पा सडकखण्डमा अनिश्चितकालसम्म सबैखाले सवारी साधन आवतजावत बन्द गरिएको पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले जानकारी दिएका छन्।एम्बुलेन्स लगायतका अत्यावश्यक सवारी साधन चलाउनुपरेमा स्थानीय प्रशासनसँग अनुमति लिन आग्रह गरिएको छ।
विगत केही दिनदेखिको अविरल वर्षाका कारण हिउँदे खोला खण्डमा सडक भासिएकाले एकतर्फी रुपमा मात्रै सवारी साधन संचालनमा छ। डाइभर्सनका लागि सडक बनाउने काम भइरहेको छ। सडक अत्यन्तै जोखिमपूर्ण रहेकाले अत्यावश्यकबाहेक यात्रा नगर्न जिल्ला प्रशासन कार्यालय पाल्पाले आग्रह गरेको छ।