लहान : छिमेकीको हत्या गरेको आरोपमा सिरहामा प्रहरीले एक जना पक्राउ गरेको छ।
पक्राउ पर्नेमा अर्नमा गाउँपालिका-२ ब्रह्मपुरीका ५२ वर्षीय बच्चु भन्ने बचाइ महतो रहेका जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता मुक्तिनाथ सापकोटाले जानकारी दिए।
बच्चुले गत जेठ ३ गते बिहान ब्रह्मपुरीस्थित खेतमा सोही ठाउँका ५३ वर्षीय बुधराम महतोलाई कोदालोले हानेर हत्या गरेको आरोप छ।
ट्याक्टर लिएर खेतमा पुगेका बुधरामलाई बचाइले कोदालो प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको थियो। प्रहरीका अनुसार लामो समयदेखि जग्गाको विषयलाई लिएर बुधराम र बचाइबीच विवाद थियो।
घटनालगत्तै फरार भएका बचाइलाई खोजतलासको क्रममा सिरहाको औरही गाउँपालिका-१ दरहैयास्थित नेपाल-भारतको सीमा क्षेत्रमा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको डीएसपी सापकोटाले बताए।
बचाइमाथि कर्तव्य ज्यान मुद्दामा ३ को म्याद थपरेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।