साउनको पहिलो सोमबार, पशुपतिनाथ सहित देशभरका शिवालयमा दर्शनार्थीहरुको घुईँचो

काठमाण्डू, आज साउन महिनाको पहिलो सोमबार । पशुपतिनाथलगायत देशभरका शिव मन्दिरमा बिहानैदेखि दर्शनार्थीहरूको घुईचो लागेको छ ।
साउनको सोमबार शिवलाई शुद्ध जल चढाएमा खुसी र समृद्धि मिल्छ भन्ने धार्मिक विश्वास छ ।
काठमाडौंको पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने भक्तजनको भिडलाई मध्यनजर गर्दै बिहान ३ बजेदेखि नै लाइन व्यवस्थापन, स्वयंसेवक एवं सुरक्षाकर्मी परिचालन, बत्ती व्यवस्थापन, आकस्मिक स्वास्थ्य उपचार सञ्चालनलगायत व्यवस्थित गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
साउनको सोमबार पशुपतिनाथमा आउने भक्तजनका लागि तीन वटा लाइनको व्यवस्था गरिएको छ ।
उमाकुण्ड, जयवागेश्वरी र पिङ्गलस्थानबाट प्रवेश गरी दर्शन गर्न सकिने गरी व्यवस्था मिलाइएको कोषले जनाएको छ ।
पशुपतिनाथका चारै ढोका सोमबार बिहान साढे तीन बजेदेखि नै भक्तजनका लागि खुला गरिएको छ ।
साउन महिनामा पशुपतिनाथ मन्दिरमा सुन्दरीजलबाट बोल बम यात्रा गरी जल चढाउने भक्तजनको पनि भीड लाग्ने गर्छ ।
बोल बम यात्रा गरी सुन्दरीजलबाट शुद्ध जल ल्याएर पशुपतिनाथमा चढाउने भक्तजन पनि साउनमा लाखौँ हुने गरेका छन् ।
साउन महिना भगवान् शिवको महिना र सोमबार भगवान् शिवजीको बार भएकाले व्रत बस्ने परम्परा छ ।
आज दिन विशेषरुपमा आशुतोष भगवान् शिवको पूजा, आराधना गरिन्छ ।
 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *