वागमतीमा कांग्रेसका बहादुरसिंह लामाले मुख्यमन्त्रीमा दावी पेस गर्दै

हेटौंडा, वागमती प्रदेशमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राजीनामा दिएसँगै नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको छ ।
वागमती प्रदेशको पाँचौं मुख्यमन्त्रीका लागि आज नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिं लामाले दावी पेस गर्दै छन् ।
हेटौंडामा आइतवार बसेको कांग्रेस संसदीय दलको बैठकले लामालाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको थियो ।
नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख यादवचन्द्र शर्माले आइतवार आह्वान गरेका थिए ।
उनले साउन ८ गते बेलुका ५ बजेसम्म नेपालको संविधानको धारा १६८ (२) अनुसार बहुमतको सरकार गठनको आह्वान गरेका हुन् ।
नेकपा एमालेको समर्थनमा लामाले आज सोमबार १० बजेपछि मुख्यमन्त्रीमा दावी पेस गर्ने कांग्रेस संसदीय दलका उपनेता रामकृष्ण चित्रकारले जानकारी दिए ।
मुख्यमन्त्री बन्न लागेका कांग्रेस संसदीय दलका नेता लामा २०७९ मंसिर ४ मा सम्पन्न निर्वाचनमा नुवाकोट २ (२) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।
पेसाले निर्माण व्यवसायी उनी २०७० मा भएको दोस्रो संविधानसभा निर्वाचनमा विजयी भएका थिए ।
लामा २०५४ सालमा गाविस अध्यक्ष बनेर जनप्रतिनिधिको भूमिकामा रहेर काम गरिसकेका नेता हुन् ।
१३ पुस ०७९ मा भएको नेपाली कांग्रेसको वागमती प्रदेशसभा संसदीय दलको नेतामा लामा विजयी भएसँगै मुख्यमन्त्री हुने ढोका खुलेको थियो ।
दलको नेता छान्न भएको निर्वाचनमा उनले इन्द्रबहादुर बानियाँलाई पराजित गरेका थिए । लामाले २१ मत पाए भने बानियाँले १६ मत मात्र पाए ।
लामाले प्रदेशसभाको पहिलो दल कांग्रेसका ३७ र दोस्रो दल एमालेका २७ गरी ६४ सांसदको समर्थनमा मुख्यमन्त्रीमा दावी पेस गर्न लागेका हुन् ।
बागमतीमा कांग्रेसले पहिलोपटक सरकारको नेतृत्व गर्दैछ । संघीयता लागू भएसँगै वागमतीमा चार जना मुख्यमन्त्री बने पनि कांग्रेसको नेतृत्वमा सरकार बन्न सकेको थिएन ।
प्रदेशको पहिलो कार्यकालमा तात्कालीन नेकपाबाट डोरमणि पौडेल, नेकपा विभाजनको संघारमा अष्टलक्ष्मी शाक्य र एमाले विभाजनपछि गठन भएको नेकपा (एकीकृत समाजवादी)बाट राजेन्द्रप्रसाद पाण्डे मुख्यमन्त्री भएका थिए ।
तात्कालीन कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धनको भागबण्डामा पाण्डेले मुख्यमन्त्री पाएपछि प्रदेशसभाको दोस्रो ठूलो दल कांग्रेसले सरकारको नेतृत्व गर्ने अवसर गुमाएको थियो ।
त्यतिबेला कांग्रेसबाट इन्द्रबहादुर बानियाँ मुख्यमन्त्रीको दावेदार थिए ।
प्रदेशको दोस्रो कार्यकालको पहिलो मुख्यमन्त्री बनेका माओवादी केन्द्रका जम्कट्टेल १८ महिने सरकार चलाएर आइतवार हिरिए ।
प्रदेश प्रमुख शर्माले जम्कट्टेललाई अर्को सरकार गठन नभएसम्मका लागि संविधानको धारा १६९ को उपधारा (३) बमोजिम काम चलाउ सरकारको रुपमा कार्य सञ्चालन गर्न अनुमति दिएका छन् ।
प्रदेश सभामा कांग्रेसको ३७ र एमालेको २७ जना सांसद छन् । ११० सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि ५६ सांसदको बहुमत आवश्यक पर्छ ।
सात दलको प्रतिनिधित्व रहेको प्रदेशसभामा माओवादी केन्द्रका २१, राप्रपाका १३ (सभामुखसहित), एकीकृत समाजवादीका ७, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ जना सांसद छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *