पूर्वमन्त्री रायको हत्या आरोपमा एक जना पक्राउ, तीन जना पसेका थिए घरमा –

लालबन्दी : पूर्वभूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्या अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

सर्लाहीको चन्द्रनगर गाउँपालिका–१ रतनपुरस्थित निवासमै गएराति पूर्वमन्त्री रायको हत्या भएको थियो। प्रहरीले २१ वर्षीय युवकलाई पक्राउ गरेको हो।

सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी दीपक श्रेष्ठले घटनापछि प्रहरीले लालगढबाट तालिमप्राप्त कुकुर मगाएर अनुसन्धान थालेको बताए।

घटनाको समयमा मन्त्री रायको घरमा राति साढे ९ बजे आसपास तीन जना व्यक्ति छिरेका उनको घरमा काम गर्ने रामउदेन रायले प्रहरीलाई बताएका थिए।

पूर्वराज्यमन्त्री रायलाई भेट्न राति घरमा आएका उनीहरूले नै हत्या गरेको आशंका प्रहरीले गरेको छ।

राय श्राद्धमा गएर राति साढे ८ बजे फर्किएका थिए। उनी आएको करिब एक घण्टा आसपासमा ती तीनजना व्यक्ति उनको घरमा छिरेका प्रहरीले जनाएको छ। तीमध्ये एकलाई प्रहरीले पक्राउ गरेको हो।

धान रोप्न पुगेका राय कामदार राम उदेन रायसँग बसिरहेका थिए। घरमा छिरेका तीनजनाले जग्गा विवाद मिलाइदिन भन्दै रायसँग प्रश्न गरेका थिए।

घरमा छिरेका तीन जना र मन्त्री रायबीच कुरा चलिरहेका बेला आफू अर्को कोठामा सुत्न गएको बयान राम उदेनले प्रहरीलाई दिएका छन्।

तर मध्यराति उठेर शौचालय जान लाग्दा मन्त्री रायको कोठा खुल्लै देखिएको थियो। कोठामा पसेर हेर्दा मन्त्री राय भुइँमा रगताम्मे भएर ढलेका देखेपछि रामउदेनले प्रहरीलाई खबर गरेका थिए।

मधेश प्रदेशका डीआईजी यज्ञविनोद पोखरेलले घटनाबारे सूक्ष्म अध्ययन गरिएको बताएका छन्।

घरेलु हतियार दाउ प्रयोग गरेर रायको हत्या गरिएको प्रहरीले जनाएको छ। उनको शव अहिले पोस्टमार्टमका लागि मलंगवा पठाइएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *