काठमाडौं । अमेरिकी दूतावासलाई लेखेको पत्र सार्वजनिक भएपछि विवादमा तानिएकी प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाले त्यसबारेमा स्पष्टिकरण दिएकी छिन् । उनले भनेकी छिन् कि सन् २०२३ फेब्रुवरी २६ मा अमेरिकाको न्यूयोर्कमा आयोजना भएको एनजीओ सिएसडब्ल्यू ६७ मा सहभागिताका लागि नेपालस्थित अमेरिकी दूतावासलाई पत्र लेखेकी थिइन् । यो पत्र केही दिनअघि सार्वजनिक भएपछि उनी विवादमा मुछिएकी हुन् ।
उक्त पत्र संघीय संसद्का लेटरहेड प्रयोग गरेर लेखिएको थियो, जसमा अन्य व्यक्तिहरुलाई पनि भिसा दिलाउन पहल गरिएको आरोप छ । उपसभामुख रानाले यसबारे स्पष्टिकरण दिँदै भनेकी छिन् कि उक्त कार्यक्रममा सहभागिता हुन लामो समय कुर्नुपर्ने भएकाले छिटो भिसा दिलाइदिन आग्रह गरेकी थिइन् ।
रानाले भनिन्, “म लगायत अन्य सहभागीलाई निमन्त्रणा स्वीकार गरी अमेरिका जानुपर्ने समयावधि अत्यन्त छोटो रहेको तर राजदूतावासमा अन्तर्वार्ताको मिति लिन लामो समय कुर्नुपर्ने अवस्थामा मैले मसँगै सहभागी हुन निमन्त्रणा आएको र उक्त कार्यक्रममा मेरो लागि सहयोगी समेत भैदिने हुनाले अन्तर्वार्ताको मिति लिइदिन अनुरोध गरेको थिएँ ।”
उनले थप स्पष्ट पारिन् कि आफूले कसैका लागि भिसाको अनुरोध नगरेकी थिइन् । “कसैलाई भिसा दिने वा नदिने निर्णय राजदूतावासले आफ्नो नीति र प्रक्रिया बमोजिम गर्ने हुन्छ । मैले कसैको भिसाको लागि अनुरोध पनि गरेको छैन,” उनले भनिन् ।
साथै, रानाले उक्त पत्र लेखेको डेढ वर्षपछि सार्वजनिक गरेर आफूलाई विवादमा तान्न खोजिएको भन्दै आपत्ति जनाएकी छिन् । उनले भनेकी छिन्, “मैले करुणाभावले सहयोग गर्न खोजेको विषयलाई झण्डै डेढ वर्षपछि विवादित गराउन खोज्नु म विरुद्ध नियोजित कदम रहेको देखिन्छ ।”