मामिला तथा सामान्य प्रशासनमन्त्री गुप्ताले एक वर्षमा मन्त्रिपरिषद् फेरिने बताए

मामिला तथा सामान्य प्रशासनमन्त्री गुप्ताले एक वर्षमा मन्त्रिपरिषद् फेरिने बताए

काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले बुधबार काठमाडौंमा आयोजित विशेष साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै, प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्का मन्त्रीहरु एक वर्षमा फेरिने बताएका छन्। उनले आगामी एक वर्षमा महिला, दलित र अन्य समुदायबाट पनि समावेशी प्रतिनिधित्व हुने स्पष्ट पारे।

कार्यक्रममा मन्तव्य राख्दै मन्त्री गुप्ताले वर्तमान सरकार राष्ट्रिय सहमतिको सरकार रहेको दाबी गरे। उनले सबै दललाई मिलाउँदा समावेशी प्रतिनिधित्व हुन नसकेको स्वीकार गर्दै, यो सरकार एकल नभई सबै दलको सहभागितामा बनेको बताएका छन्। उनले भने, ‘यो टिम एक वर्षका लागि हो, त्यसपछि अर्को टिम आउँछ जसमा दलित र महिलाको संख्या बढ्नेछ।’

मन्त्री गुप्ताले विगतमा प्रधानमन्त्री ओलीले ३८ महिनाको नेतृत्वमा विकासलाई गति दिएको दाबी गरे। उनले अब आफूहरु पनि प्रधानमन्त्री ओलीको सहयोगीको रूपमा मन्त्रालयमा रहेर देशको आर्थिक विकास, सुशासन र विकास निर्माणमा योगदान गर्ने प्रतिवद्धता व्यक्त गरे। गुप्ताले देशले प्रधानमन्त्री ओलीकै नेतृत्व खोजेको दाबी गरे।

गुप्ताले २०७९ को निर्वाचनमा कुनै पार्टीलाई स्पष्ट बहुमत नदिँदा एमाले र कांग्रेस मिलेर राष्ट्रिय सहमतिको सरकार बनाउनुपरेको बताए। ‘२०७९ को निर्वाचनमा कुनै पार्टीलाई स्पष्ट बहुमत थिएन। एमाले र कांग्रेस मिलेर राष्ट्रिय सहमतिको सरकार बनेको छ,’ उनले भने। मन्त्रीले यो सरकारले देशलाई अगाडि बढाउनेमा विश्वास व्यक्त गरे।

मन्त्री गुप्ताले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको अघिल्लो सरकारले फाइल खोल्छौं मात्र भनेको र वास्तविक रूपमा काम नगरेको आरोप लगाए। उनले वर्तमान सरकारले ती सबै फाइल खोल्ने र छानविन गर्ने बताए। ‘यो सरकारले भ्रष्टाचारीलाई छोड्दैन,’ गुप्ताले भने।

समावेशी समानुपातिक व्यवस्था हटाउने कुरा नगरेको स्पष्ट पार्दै मन्त्री गुप्ताले भने, ‘संघीयता फाल्ने कुरा हामीले गरेकै छैनौं।’ उनले संघीयतालाई व्यवस्थित बनाउनुपर्ने आवश्यकता औँल्याउँदै, प्रतिनिधि सभालाई पूर्ण रूपमा प्रत्यक्ष निर्वाचितको थलो बनाउनुपर्ने बताए। समावेशी समानुपातिक निर्वाचन प्रणालीलाई राष्ट्रिय सभामा व्यवस्थापन गर्ने योजनाको बारेमा पनि उनले जानकारी दिए।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *