चन्द्रागिरि केबलकारमा विद्युत अवरोध : दर्जनौं यात्रु बीचमै अड्किए

काठमाडौं। चन्द्रागिरि केबलकारमा विद्युत अवरोध हुँदा यात्रुहरू अड्किएका छन्। बुधबार दिउँसो अन्दाजी २ बजे चन्द्रागिरि नगरपालिकास्थित केबलकारमा प्राविधिक समस्याका कारण यात्रुहरू बीचमै अड्किएका हुन्। अवरुद्ध विद्युत सेवा सञ्चालनमा आउन समय लाग्ने भएकोले डिब्बामा फसेका यात्रुलाई उद्धार गर्न सशस्त्र प्रहरीको नम्बर ९ पशुपतिनाथ बाहिनीबाट १५ जनाको टोली चन्द्रागिरितर्फ गएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए। कति यात्रु फसेका छन् भन्ने खुलिसकेको छैन भने ७–८ वटा डिब्बामा यात्रुहरू फसेको सहप्रवक्ता डिएसपी थापाले बताए।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार विद्युत अवरुद्ध भएर मानिसहरू अड्किएपछि चन्द्रागिरि केबलकारबाट वैकल्पिक उपायबाट निकाल्ने कोसिस भइरहेको छ। केबलकारमा अड्किएका यात्रुको उद्धारको लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको टोली घटनास्थलमा पुगिसकेको परिसरका प्रवक्ता नवराज अधिकारीले जानकारी दिए। उनले भने, ‘केबलकारले पनि निकाल्न प्रयत्न गरिरहेको छ भने सरकारको तर्फबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको उद्धारको टोली त्यहाँ पुगिसकेको छ। कसरी हुन्छ छिटोभन्दा छिटो उद्धार हुन्छ। केबलकारको भल्ट बिग्रेर यस्तो समस्या आएको हो।’

केबलकारमा फसेका यात्रुको प्रहरीले उद्धार प्रयास गरिरहेको छ। स्टेसन नजिक रहेका ८ जना यात्रुको भर्‍याङ लगाएर उद्धार गरिएको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ। तर, जंगलको बीचमा रहेका डब्बाबाट यात्रुलाई उद्धार गर्न कठिनाई भइरहेको प्रहरीको भनाई छ। अड्किएका यात्रुलाई वैकल्पिक उपायबाट तल्लो स्टेसनमा झार्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

प्रहरी वृत्त थानकोटका अनुसार जेनेरेटर चलाउन नसकिएपछि अहिले केवलकारको डिब्बामा अड्किएका यात्रुलाई डोरी हातैले तानेर तल्लो स्टेसनमा झार्ने प्रयास भइरहेको छ। चन्द्रागिरि केबलकारमा विद्युत अवरोध हुदा केवलकारमा अड्किएकाहरूलाई झार्न कम्पनीले जेनेरेटर चलाएपनी त्यसले काम नगरेपछि अब हातैले केवलकारका डोरी तान्न लागिएको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *