बेपत्ता ६२ मध्ये पाँच जनाको शव भेटियो, दुईजनाको पहिचान हुन बाँकी « Lokpath

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको भरतपुर महानगरपालिका–२९ सिमलतालमा शुक्रबार बिहान पहिरोमा परी त्रिशूली नदीमा खसेर हराइरहेका दुईवटा बसका बेपत्ता ६२ यात्रुमध्ये आइतबार बिहानसम्म पाँच जनाको शव फेला परेको छ । भेटिएका शवमध्ये तीनजनाको परिचय खुलेको छ ।

चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार माडी नगरपालिका–१ का २२ वर्षीय विकास परियार, सर्लाही बरहथवा नगरपालिका–३ का १९ वर्षीय रमितकुशर माझी र भारतको बिहार सीतामणि बर्गिनिया जमुहवाका २८ वर्षीय ऋषिपल साहको शव भेटिएको हो । भेटिएकामध्ये दुईजनाको परिचय खुल्न बाँकी छ । यसअघि ५४ यात्रु रहेको बताउँदै आएको भएपनि सो संख्या ६५ रहेको विवरण चितवन जिल्ला प्रशासन कार्यालयले आइतबार बिहान सार्वजनिक गरेको छ ।

यसअघि काठमाडौंबाट गौर आउँदै गरेको बागमती प्रदेश ०३–००१ख २४९५ नम्बरको बसका २७ र वीरगञ्जबाट काठमाडौं जाँदैै गरेको बागमती प्रदेश ०३–००६ख १५१६ नम्बरको बसका २४ जना बेपत्ता भएको प्रहरीले बताउँदै आएको थियो । तर, काठमाडौंदेखि गौर जाँदै गरेको गणपति डिलक्स बसमा टिकट काउन्टरको चलानमा २७ जनाको नाम रहेको र घटनापछि सम्पर्कमा आएका आफन्तहरूले टिपाएको विवरणका आधारमा उक्त बसमा थप ११ यात्रु रहेको खुलेको छ ।

३८ जना यात्रु रहेको यो बसका तीन जना यात्रु सकुशल छन् । उनीहरुले हाम फालेर ज्यान जोगाएका थिए । चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार, वीरगन्जबाट काठमाडौं जाँदै गरेको एन्जल बसमा चलानमा २३ जना र आफन्तहरू सम्पर्कमा आएर दिएको विवरणका आधारमा चार जना गरी कुल २७ जनाले यात्रा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *