एजेन्सी, ४८औँ संस्करणको कोपा अमेरिका फुटबलमा १५ पटकको विजेता उरुग्वे तेस्रो भएको छ ।
आज बिहान सम्पन्न खेलमा क्यानडालाई पेनाल्टी सुटआउटमा ४–३ ले हराउँदै उरुग्वेले तेस्रो स्थान हासिल गरेको हो ।
पेनाल्टी सुटआउटमा उरुग्वेका चार खेलाडी सफल भए । क्यानडाका भने तीन खेलाडीले मात्र गोल गर्न सके ।
त्यसअघि निर्धारित समयमा दुवै टिमले २–२ को बराबरी खेले । इन्जुरी समयको दोस्रो मिनेटमा उरुग्वेले गोल फर्काएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो ।
उरुग्वेका लागि दोस्रो गोल लुइस सुआरेजले गरे । उनले जोसे मारिया गिमेनेजको पासमा गोल गरेका हुन् ।
खेलको ८०औँ मिनेटमा जोनाथन डेविडको गोलमा क्यानडाले खेलमा अग्रता लिएको थियो । खेलको आठौँ मिनेटमा रोड्रिगो बेन्टान्करले गोल गर्दै उरुग्वेलाई सुरुवाती अग्रता दिलाए ।
तर, उसको अग्रता लामो समयसम्म टिक्न सकेन । २२औँ मिनेटमा इस्माइल कोनेले गोल गर्दै खेललाई १–१ को स्थितिमा ल्याएका थिए ।
सेमिफाइनलमा क्यानडा अर्जेन्टिनासँग तथा उरुग्वे कोलोम्बियासँग पराजित भएका थिए ।