सौर्य अनलाइन
२०८१ असार २८ गते १५:३३ मा प्रकाशित
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले भ्रष्टाचारविरुद्धका फाइल खोलेको २४ घण्टामै वर्तमान सरकारलाई ढालिएको बताएका छन् । शुक्रबार प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने छलफलमा भाग लिँदै गृहमन्त्री लामिछानेले यस्तो दाबी गरेका हुन् ।
‘भ्रष्टाचारका फाइल खोलेको खोई ? भनेर प्रश्न गरेको गर्यै गर्नुहुन्थ्यो’ उनले भने, ‘फाइल खोलेको २४ घण्टामा सरकार ढाल्नुभयो ।’ उनले भुटानी शरणार्थी काण्डमा बेचन झा पक्राउ परेकोप्रति संकेत गर्दै यस्तो तर्क गरेका हुन् ।
साथै, गृहमन्त्री लामिछानेले कुनै एउटा व्यापारीको घरमा बसेर गरिएको सहमति कसरी राष्ट्रिय सहमति हुन्छ भन्दै प्रश्न गरे । उनले आफ्नै दलका नेता, सांसद र जनतालाई थाहा नदिई मध्यरातमा भएको कस्तो सहमति हो भन्दै प्रश्न गरे ।
गृहमन्त्री लामिछानेले आफ्नो दल सरकारमा गएर के गर्यो भन्नेलाई केही काम गर्न खोज्दैमा दुई ठूला दल रातारात मिल्ने अवस्था आएको उल्लेख गरे । जब अनुसन्धानको सुई कसैको ढोका ढकढक्याउन पुग्यो तब कांग्रेस र एमालेलाई रातारात कसरी संविधानको याद आयो भन्दै उनले प्रश्न गरे ।
दुई ठुला दल मिलेर देशमा शान्ति र सुशासन हुने भए ठिकै हुने बताउँदै पहिले नै मिलेको भए आफ्नो दलको जन्मनै नहुने बताए । उनले रास्वपालाई सरकारमा भन्दा प्रतिपक्षमै बस्न रमाइलो हुने उल्लेख गरे ।
लामिछानेले जनताले प्रतिपक्षमा बस्न मत दिएपनि जनतामा आशा दिनका लागि सरकारमा गएको बताए । प्रधानमन्त्री प्रचण्डसँग देशलाई सुशासन दिन छलफल गरेर चेकलिष्टसहित काम गर्न आएको र ४ महिनामा गरेको काममा आफै सन्तुष्ट नरहेको बताए ।