अझै समय छ, सहकारी ठग जिवी राईलाई पक्राउ गर्नुहोस् : ज्ञानेन्द्र शाही

सौर्य अनलाइन
२०८१ असार २८ गते १६:३९ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सहकारी ठगी, सुन तस्करीका आरोपित तथा निर्मला हत्याकाण्डका दोषीलाई छानविन तथा पक्राउ गर्न नसकिएको भन्दै सरकारको आलोचना गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राखेको विश्वासको मतसम्बन्धी छलफलमा भाग लिँदै उनले सहकारी ठगी प्रकरणका आरोपितलाई किन पक्राउ नगरिएको भनेर प्रश्न गरे ।

सांसद शाहीले सहकारी ठगीका आरोपित जिवी राईलाई पक्राउ गर्न नसकिएको भन्दै गृहमन्त्री रवी लामिछानेलाई अझै पक्राउ गर्ने समय रहेकाले पक्राउ गर्नसमेत सुझाव दिए । उनले पछिल्लो समय मुलुकको समृद्धि हुन नसक्दा विदेशिने युवा बढ्दै गएका बताए ।

सांसद शाहीले जातीय छुवाछूतविरुद्धको कानुन राजाको पालामा नै बनेको उल्लेख गर्दै अहिलेका राजनीतिक दलले यसको श्रेय लिएर जातजातिलाई भड्काउन नहुनेमा जोड दिए ।

‘रुकुम पश्चिममा नवराज विकको हत्या गणतन्त्रपछि नै भएको हो, राजाको पालामा होइन, अब फेरि राजनीतिक कारणले मुलुक युद्धमा नधकेलियोस्, जातजातिका नाममा राजनीति नगरियोस्’, उनले भने । उनले आफ्नो पार्टीले प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिने जानकारी गराए ।– रासस

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *