मलंगवाबाट हिँडेको बस पसाह पुलनजिकै दुर्घटना : १४ जना घाइते –

बारा : बाराको जितपुरसिमरा उपमहानगरपालिका– १६ पसाह पुलनजिकै बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन्।

मलंगवाबाट पर्साको वीरगन्जतर्फ जाँदै गरेको ना.४ख ७१९४ नम्बरको बस पूर्व–पश्चिम लोकमार्गअन्तर्गत बाराको पसाह खोलानजिकै पल्टिँदा १४ जना घाइते भएको इलाका प्रहरी कार्यालय निजगढले जानकारी दिएको छ।

भारी वर्षा भइरहेको समयमा तीव्र गतिमा बसले ओभरटेक गर्ने क्रममा सडकभन्दा उतरतर्फ बस पल्टिन पुगेको प्रहरीले अनुमान गरेको छ । दुर्घटनामा घाइते भएका १४ मध्ये रौतहटको बिन्दावन नगरपालिका– १ बस्ने ४२ वर्षीय संझा देवीको अवस्था गम्भीर रहेको छ । उनको छातीमा चोट लागेको हुँदा प्राथमिक उपचारपछि सिमरा सरकारी अस्पतालबाट उनको बयाेधा अस्पताल पर्सामा रिफर गरिएको छ ।

यस्तै, दुर्घटनामा घाइतेमध्ये तीनजनाको अवस्था मध्यम रहेको बताइएको छ । अवस्था मध्यम हुनेमा बाराको निजगढ नगरपालिका– ९ बस्ने ३६ वर्षीय तिरजा उप्रेती, रौतहटको चन्द्रनिगाहपुर नगरपालिका– ६ बस्ने ४८ वर्षीय रामबाबु चौधरी र बाराको जितपुरसिमरा उपमहानगरपालिका– ३ बस्ने २० वर्षकी लक्षमी घिसिङ रहेका छन् ।

यस्तै, सामान्य घाइते हुनेमा बाराको निजगढ नगरपालिका– ९ बस्ने २८ वर्षीय रविन तामाङ, सोही स्थानका ३१ वर्षीय लरेन्स लामा, रौतहटको चन्द्रनिगाहपुर नगरपालिका– ६ बस्ने ४० वर्षीय नवराज आचार्य, बाराको जितपुरसिमरा उपमहानगरपालिका– ३ बस्ने २२ वर्षीया आशा तामाङ, बाराको कलैया उपमहानगरपालिका– १३ बस्ने २५ वर्षीय रिकदेवप्रसाद यादव, रौतहटको गरुडा नगरपालिका– ९ बस्ने ३३ वर्षीय लालबुबा दास, सोही स्थानका २४ वर्षीय कैलाश यादव, सोही स्थानका ३२ वर्षीय रामउदगर साह, सोही स्थानका १७ वर्षीय राकेशकुमार यादव र बाराको जितपुरसिमरा उपमहानगरपालिका– १४ बस्ने ४५ वर्षीय कृष्णप्रसाद अधिकारी रहेको जिल्ला प्रहरीले जनाएको छ ।

प्रहरीले बसका सहचालक सर्लाहीको मलंगवा नगरपालिका– १० बस्ने २८ वर्षीय राकेशकुमार साहलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरिसकेको छ भने बसचालक सर्लाहीको मलंगवा नगरपालिका– ९ बस्ने ४५ वर्षीय जयनारायण महतो फरार रहेका छन् । बसमा २५–२६ जना सवार रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घाइतेहरूको सिमरास्थित सिमरा सरकारी अस्पतालमा उपचार भइरहेको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *