सौर्य अनलाइन
२०८१ असार २७ गते १८:३४ मा प्रकाशित
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले हाल देशमा भइरहेको बाढीपहिरोलगायत विपद् व्यवस्थापनमा तत्काल खट्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
अध्यक्ष नेपालले बिहीबार एक विज्ञप्ति सार्वजनिक गर्दै केही दिनको अविरल वर्षाका कारण बाढीपहिरोले देशका विभिन्न भागहरूमा हालसम्म ८० जनाको निधन भएको, ५ जना बेपत्ता भएको र ९७ जना घाइते भएको भन्दै पीडितलाई तत्काल राहत र उद्धारमा खट्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।
‘केही दिनको अविरल वर्षाका कारण बाढी र पहिरोले देशका विभिन्न भागहरूमा हालसम्म ८० जनाको निधन भएको, ५ जना बेपत्ता भएको र ९७ जना घाइते हुनुभएको जानकारी सार्वजनिक भएको छ । बाढी र पहिरोका कारण २ हजार ७ सय ६४ घर परिवार विस्थापित भएको र कैयन् भौतिक संरचना, लाखौको अन्नबाली र ठुलो संख्यामा पशुचौपाया नष्ट भएको विषय समेत सार्वजनिक भएको छ । प्राकृतिक विपत्तिको यस क्षणमा हामी अत्यन्त दुःखी छौँ । बाढी पहिरोमा ज्यान गुमाउनेहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौँ ।
बाढी, पहिरो र डुबानबाट पीडित जनतालाई तत्काल आवास, खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा, घाइतेको उपचार र मृतकका परिवारलाई आर्थिक सहयोग लगायतका उद्धार र राहतका कार्यहरू प्रभावकारी, निष्पक्ष र पारदर्शी रुपमा संचालन गर्न हामी नेपाल सरकारसँग माग गर्दछौँ ।
मनसुन सुरु मात्र भएको हुँदा आगामी दिनहरूमा समस्या अझै गम्भीर हुने सम्भावना देखिन्छ । यसका निम्ति राज्यका सम्पूर्ण निकायहरू, जनप्रतिनिधि तथा आम जनसमुदायको ध्यान आकर्षित गर्न चाहन्छु । यस्तो प्राकृतिक विपत्तिमा आ(आफ्नो ठाउँबाट पीडित समुदायको उद्धार र राहत कार्यमा सक्रियताका साथ योगदान गर्न सम्पूर्ण पार्टी, जनसंगठन, जनप्रतिनिधि, पार्टी सदस्यहरू तथा संघसंस्थाहरूलाई समेत हार्दिक आह्वान गर्दछु ।’ अध्यक्ष नेपालले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ ।