गाउँको माया

म गाउँबाटै शहर आएँ

मात्रै म होइन मेरा कैयौ पुस्ता गाउँमै रमाए

कञ्चन गाउँको पानीले तिर्खा मेटाए

आँखाका निस्वार्थ हेराइ

मुटुमा आत्मीय माया

कलकल बग्ने खोलाजस्तै प्रेम

अर्गानिक रहनसहनभित्र

हरेक श्वासप्रश्वास अनि ढुकढुकी निस्वार्थ थियो

वात्सल्य बलियो थियो

साथीसँगी गुराँसजस्तै

हँसिला थिए

दयाभाव अनुहार

मुसुक्कै प्रेमिल उपहार थियो

सुगन्धमा स्वार्थ थिएन शीतका थोपामा रमाएका

रंगीविरंगी फूल तिनै फूलका गुलिया स्वाद

लिंदै फूलका भवरा र पुतलीसँग

हामी खेल्थ्यौ निस्फिक्री

प्रकृतिको बीचमा रमाइलो गर्दै,

भविष्यको चिन्ताबिना।

जङ्गलका चराचुरुङ्गी झयाउँकिरीको धुनमा

बयेली खेल्दै

खुशीले उडिरहन्थौ चङ्गाजस्तै

बेफिक्री थियौ चुँडिने डर थिएन

छङछङ बगेका खोला झरनाका

सुसेलीसँगै दोहोरी खेल्दै

क्षितिज र हिमालसँगै सेता मोतिझै दन्त

टलक्क पारी

मुसुक्क निर्दोष मुस्कानसँगै

दुखचिन्ताको पर्वाह नगरी सुस्केराको

मलहम लगाउँदै

के दुख, के सुख, के रोदन, के हाँसो

खुला आकाशामा स्वतन्त्र उडेको शान्तिको परेवा जसरी

म गाउँकै प्रकृतिसँग खेल्दै हुर्किएँ

फेरि अचानक गाउँ छोडेर काल्पनिक सपनाको

खोजी गर्दै पाइला मोडिए

कृत्रिम शहरभित्र म हराएँ

र पनि म भित्र तिनै आलो यादहरू छन् गाउँका।

आहा गाउँ नाम मात्रै सुन्दा पनि कति आनन्द

आत्माहरूलाई जीवन्त पार्ने

रुखका चिल्ला पातहरूबाट सङ्गीतको प्यास मेट्ने हामी

गुलाबी लालुपाते ठिटीका अधरले सुसेलेका भाकाहरू

हलो जोत्त्दै ठट्टा गर्ने ठिटाका ठटेउलीहरू

झरेको तारा देखेर रमाउँदै

जूनका उजयालामा आँगनभरि रमाउने

बाल्यकाल

आहा गाउँ

सृष्टि कति अनौठो छ सुन्दर छ

सँगै गाउँ र

गाउँले जीवन

अग्ला अत्यासलाग्दा कृत्रिम काल्पनिक

शहर बिचमा उकुसमुकुसिएका लागि

स्वर्ग हो गाउँले जीवन

मेरो आमाले

आँगनको डिलबाट बोलाएको

भर्खरै जस्तो लाग्छ।

जुनकिरीको पछि दौड्दै

जुनेली रातमा,

मेरा कलिला पैतालामुनि

टाँसिएको कालो माटो।

आँगनमा साथीहरूसँग रमाएको

आज जस्तै लाग्छ।

तर साँच्चिकै आज नै भैदिए

मेरो सम्झनामा मेरो प्यारो गाउँ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *