हरिवनः बलात्कारपछि महिलाको गुद्धद्वारमा मकैको ढोड पसाएर अचेत बनाएको आरोपमा पक्राउ परेका व्यक्ति जेल चलान भएका छन्।
बसबरिया गाउँपालिका वडा नम्बर ३ बस्ने रमण माझीलाई जिल्ला अदालत सर्लाहीले पुर्पक्षका लागि कारागार पठाएको हो।
गएको जेठ १३ गते बागमती नगरपालिका वडा नं ४ जिरायतस्थित डाँडा टोलदेखि नयाँ बस्ती आवतजावत गर्ने कच्ची सडक बाटोको किनारामा नामथर नखुलेकी ३५-४० वर्षकी महिलालाई बलात्कार गरेको आरोपमा माझी पक्राउ परेका थिए।
माझीलाई हिजो जिल्ला अदालत सर्लाहीले कारागार पठाएको हो।
बागमती नगरपालिका ४ मगर टोलस्थित जिरायत सडक खण्डमा हिँडिरहेको अवस्थामा उनलाई प्रहरीले पक्राउ गरेको थियो।
बलात्कारपछि माझीले उक्त महिलाको मलद्वारमा सुकेको मकैको ढोडको टुक्रा छिराएर बीभत्स तरिकाले छाडेका थिए।
अचेत अवस्थामा भेटिएकी ती महिलालाई हरिवन प्रहरीले स्थानीयको सहयोगमा उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा पठाएको थियो। घटनाको १५ दिनपछि प्रहरीले माझीलाई पक्राउ गर्न सफल भएको थियो।