कपिलवस्तु : सर्पको टोकाइबाट कपिलवस्तुमा महिलाको मृत्यु भएको छ। विषालु सर्पले डस्दा कपिलवस्तुको शिवराज नगरपालिका वडा १० शिललापुरकी एक महिलाको शुक्रवार मृत्यु भएको छ।
सर्पको टोकाइबाट कपिलवस्तुमा महिलाको मृत्यु
खेतमा काम गर्ने क्रममा गोमन सर्पले टोक्दा स्थानीय ६५ बर्षिया सुरपाति पासीको मृत्यु भएको हो। सर्पले डसेर घाइते भएकी उनको ढिलो गरी उद्धार हुँदा मृत्यु भएको सर्प दंश उपचार केन्द्र गोरुसिङ्गेको प्रमुख नबिन भण्डारीले बताए।
सर्पले डसेर मृत्यु भई सकेको पछि बल्ल शुक्रवार साँझ साढे ६ बजेतिर उनलाई उपचारका लागि ल्याइएको भण्डारीले बताए। समयमै उद्धार नहुँदा उनको मृत्यु भएको उनले बताए।
गोरुसिङ्गेमा उपचार सम्भव नभएपछि तौलिहवा रिफर गरिएको थियो। सर्पको डसाइले सुरपातीको मृत्यु भए पछि शिवराज नगरपालिकाका मेयर अजय थापाले अति बिपन्न परिवारका लागि गोरुसिङ्गेमा निःशुल्क उपचार हुने आफ्नो फेसबुक मार्फत घोषणा गरेका छन्।
नेपालमा कति प्रजातिका सर्प?
सर्पबारे अध्ययन गरेका विज्ञहरूका भनाइमा नेपालमा हालसम्म ९० भन्दा बढी प्रजातिका सर्पहरू पाइएको विवरण छ।
“नेपालमा हालसम्म पहिचान भएका भनेर ९०/९२ प्रजातिका सर्पलाई लिइन्छ,” नेपालमा पाइने सर्प र सर्पदंशबारे अनुसन्धान गरेका एकजना प्राणीशास्त्री डा. देवप्रसाद पाण्डे भन्छन्।
“तर नेपालमा सर्पबारे अझै अध्ययन हुन बाँकी रहेकाले यहाँ योभन्दा धेरै नै जातका सर्प हुन सक्छन्।”
गण्डकी विश्वविद्यालयको अनुसन्धान विभागका प्रमुख समेत रहेका पाण्डेका अनुसार नेपालमा पाइने धेरै सर्पहरू विषालु छैनन्।
“यहाँ पाइनेमध्ये १८ वटा प्रकारका सर्पहरू चाहिँ अति विषालु खालका हुन्,” उनले भने, “त्यस बाहेकका सर्पहरू कम विषालु र विष नभएका छन्।”
जीवशास्त्रीहरूका भनाइमा विश्वमा करिब चार हजार प्रजातिका सर्पहरू पाइन्छन्।
नेपालका छिमेकी मुलुकहरू भारत र चीनमा पनि धेरै सङ्ख्यामा सर्पका प्रजाति पाइएकाले नेपालमा पनि अहिले भेटिएका भन्दा बढी सर्प भेटिनसक्ने उनीहरूको भनाइ छ।
सबैभन्दा विषालु सर्प
नेपालमा पाइने सर्पमध्ये सबैभन्दा विषालु र धेरै मानिसको ज्यान लिएका सर्प भनेका करेत र गोमनका विभिन्न प्रजाति रहेको पाण्डे बताउँछन्।
त्यस्तै हरेउका केही प्रजाति र बाघे सर्प पनि अति विषालु सर्पका रूपमा लिनुपर्ने उनको भनाइ छ।
“नेपालमा करेतका छ वटा प्रजाति छन् त्यसमध्ये पाँचवटाले मानिसहरूलाई डसिरहेको प्रमाण भेटिएको छ।
एउटा ‘बङ्गारस बङ्गोरोइड’ भन्ने प्रजातिले चाहिँ खासै डसेको पाइएको छैन,” पाण्डेले भने।
उनका अनुसार मानिसलाई कम डस्ने भनिएको उक्त सर्प पहाडी क्षेत्रमा पाइन्छ।
सर्पले टोकेमा के गर्ने?
सर्पदंशको उपचारमा संलग्न चिकित्सकहरू सर्पले टोक्दैमा नआत्तिन सुझाव दिन्छन्।
लामो समय सरकारी सेवामा रहेर सर्पदंश उपचार र त्यसको उपचार पद्धतिका मापदण्ड बनाउन समेत संलग्न भई अहिले अवकाशप्राप्त चिकित्सक डा. छविलाल थापामगर कैयौँ मानिसहरू आत्तिएर थप बिरामी पर्ने गरेको बताउँछन्।
हाल नवलपुरस्थित कालिगण्डकी अस्पतालमा कार्यरत चिकित्सक थापामगरका अनुसार अझै पनि कतिपय मानिसहरू चाहिँ सर्पले टोकेपछि निकै ढिलो गरेर अस्पताल आउने गरेका छन्।
बीबीसीसँग कुराकानी गर्दै उनले भनेका थिए, “सबैभन्दा ठूलो समस्या भनेको मानिसहरू ढिलो गरेर आउने गर्छन्।
तर शङ्का लागेर पनि अस्पताल आउनेहरू अचेल बढेका छन्।”
सर्पले टोकेको अवस्थामा अपनाउनु पर्ने सावधानीबारे थापामगर भन्छन्, “नआत्तिने र टोकेको भागलाई हलचल नगराएर सकेसम्म छिटो अस्पताल पुर्याउनु पर्ने हुन्छ।”
“प्राथमिक उपचार भनेर पहिले-पहिले गरिरहेका विभिन्नखाले कुराहरू नगरीकन सिँधै बिरामीलाई अस्पताल ल्याउनु नै सबैभन्दा राम्रो उपाय हो।”
उनले भारतबाट एन्टी स्नेक भेनम ल्याएर उपचार भइरहेको जानकारी दिए।
थापामगरका अनुसार सबै सर्प विषालु हुँदैनन् र विषालुले टोक्दा पनि सधैँ विष छाड्छ भन्ने हुँदैन।
सर्पको टोकाइबाट कसरी बच्ने?
सर्पको टोकाइबाट बच्न आफ्नो घर वरिपरि नियमित सफाइ गर्नुपर्ने डा. थापामगरको सुझाव छ।
त्यस्तै उनी सर्प लुक्ने स्थान नबनाउने र दुलाहरूमा हात नराख्ने व्यवहार अपनाउन सबैलाई आग्रह गर्छन्।
“राति हिँड्नुपर्दा पनि जुत्ता र सुरुवालजस्तो तलैसम्म छोप्ने लुगा लगाउने र लट्ठी लिएर हिँड्ने गर्नुपर्छ,” उनी भन्छन्।
त्यस्तै राति सुत्दा खाटमा सुत्ने र झुल टाँगेर सुत्ने गर्दा पनि सर्पको आक्रमणबाट बच्न सकिने उनको सुझाव छ।