लालबन्दी : लालबन्दी नगरपालिकास्थित नवलपुर चोकमा रहेको मनीषा हेल्थ केयरका चिकित्सकमाथि कुटपिट भएको छ।
हिजो असार २० गते दिउँसो ४ बजेतिर अस्पतालका डाक्टर मुकेश कुमार साहमाथि कुटपिट भएको हो। मनीषा हेल्थ केयर (अस्पताल) ले जबर्जस्ती उपचार गराएको र बढी बिल उठाएको भन्दै लालबन्दी नगरपालिका कार्यालयबाट गएको कर्मचारीलगायत टोलीले डाक्टरमाथि हातपात गरेको हो।
लालबन्दी र हरिवन नगरपालिकाको सिमानामा रहेको लखन्देही खोलाको पुल नजिकै मोटरसाइकमा सवार दुई युवा दुर्घटनामा परेपछि उपचार गराउन जाँदा अस्पतालले अनावश्यक जाँच गरी बिल मात्र बढाएको निहुँमा बिहीबार दिउँसो अस्पताल तनावग्रस्त बनेको हो।
के थियो लफडाको विषय ?
उक्त दुर्घटनाका प्रत्यक्षदर्शी (अस्पतालले दुर्घटना गराएको आरोप लगाएको) लालबन्दी नगरपालिकाका योजना अधिकृत मोटरसाइकल चलाएर घर जाँदै थिए। एक्कासि दुर्घटना भएको देखे। दुर्घटनापछि ती युवा नवलपुरस्थित उक्त मनीषा हेल्थ केयरमा उपचारका लागि गए।
तर ती युवाहरूले आफूहरू सामान्य घाइते भएको भन्दाभन्दै पनि अस्पतालले चेकजाँचको नाममा ४० हजारको बिल थमाइदिएको बताएका थिए। उक्त दुर्घटना देखेका लालबन्दी नगरपालिकाका योजना अधिकृतलाई ती दुई युवाले गुहारे।
पछि नगरकार्यालिपाको बैठक चलिरहँदा दुर्घटना परेका ती दुई युवा आएर आफूहरूलाई अस्पतालले लुटेको भन्दै उजुरी गरे।
उनीहरूको उजुरीपछि लालबन्दी नगरपालिकाको स्वास्थ्य शाखाको टोली अस्पताल गएर बुझ्न खोज्दा उक्त घटना भएको नगरपालिकाकी उपमेयर कल्पना माया पाख्रिनले बताइन्।
‘हामी नगरपालिकाको स्वास्थ्य शाखाको कर्मचारीसहित १५-२० जना त्यस अस्पताल (मनीषा हेल्थ केयर) गएका थियौँ। किन यति धेरै बिल आयो ? किन बिरामीलाई लुटेको भन्न जाँदा अस्पतालका कोही कर्मचारी पनि त्यहाँ उपस्थित थिएनन्,’ उपमेयर पाख्रिनले भनिन्, ‘उक्त अस्पताल मापदण्डविपरीत रहेकाले सटर तान्न खोज्दा एक्कासि डाक्टर साप नै आउनुभयो। अनि उहाँले चर्को स्वरमा बोल्न थालेपछि घम्साघम्सी भइहाल्यो।’
सामान्य दुर्घटना भएर आएका बिरामीको पनि अस्पतालले जबर्जस्ती रगत झिक्ने र बिल उठाउने काम गरेपछि आफूहरूसँग गएका नगरपालिकाका कर्मचारी, वडाध्यक्ष र स्थानीय आक्रोश भएर घटना भएको उपमेयर पाख्रिनले बताइन्।
घटनास्थलमा नगर प्रहरी र नेपाल प्रहरी दुवै रहेकाले स्थितिले ठूलो रूप लिन नपाएको उनले बताइन्। ‘८ ९ जना प्रहरीहरू थिए। किन बदमास गरेको भनी प्रहरीले डाक्टरलाई सोधेको थियो। त्यतिकैमा धकेलाधकेला भयो। आवेशमा आएर केही व्यक्तिहरूले डाक्टरमाथि कुटाकुटा भयो। हामी सबै कर्मचारी त्यहाँ थियौँ,’ पाख्रिनले डाक्टरमाथि वडाध्यक्षलगायत आफ्ना कर्मचारीले कुटपिट गरेको स्विकार गरिन्।
दुर्घटनामा परेका ती युवाले आफूहरूलाई केही नभएको भन्दाभन्दै पनि अस्पतालले दिनभर राखेर ४० हजार रुपैयाँको बिल थमाइदिएको सार्वजनिक भएपछि डाक्टरमाथि कुटपिट भएको थियो।
अस्पतालले आफूहरूको खुट्टा फ्याक्चर भएको भने पनि हरिवनस्थित नमुना अस्पतालमा गएर जाँच गर्दा त्यस्तो केही नभएको दुर्घटनामा परेका ती युवाले आफूलाई भनेका उपमेयर दाबी गर्छिन्।
तर यति सामान्य विषयमा डाक्टरमाथि किन हातपात भयो भनी सर्लाही न्युजको प्रश्नमा उपमेयरले भनिन्, ‘अस्पतालविरुद्ध निवेदन आको थ्यो, कार्यपालिका बैठकमा। सामान्य उपचार गरभन्दा बिल बढी उठाएको भन्दै झडप भएको हो, नहुनुपर्ने भयो। आवेशमा यस्तो भएको हो।’
नगरक्षेत्रभित्र सञ्चालित मापदण्ड नपुगेको अस्पताललाई नगरपालिकाले बन्द गर्न पाउनुपर्ने भए पनि घटना हुनु दुःखद् भएको उनको भनाइ थियो। ‘हाम्रो स्वास्थ्यका कर्मचारीले पनि बुझ्नुहुन्छ। डाक्टर नै कुट्नु त हुँदैन थियो। हात नलगाउनु त भनेको हो। तर २० मिनेट बस्दा पनि नआएका डाक्टर पछि आएपछि हातपात भएको हो। नहुनुपर्ने घटना भयो,’ उनले आत्मग्लानि भावमा भनिन्।
अस्पताल मापदण्डविपरीत थियो -नगरपालिका
यसअघि नगरपालिकाले बेलाबेलामा गरेको अनुगमनका क्रममा उक्त मनीषा हेल्थ केयर मापदण्डविपरीत भेटिएको र १५ दिनभित्र सम्पूर्ण कागजपत्रसहित उपस्थित हुन बोलाइएको उपमेयर पाख्रिनले बताइन्।
‘बाहिरका डाक्टर ल्याउने भनेर अस्पतालले नाम राखेको रैछ, १५ बेडको अस्पताल भनिएको छ तर त्यो कतै नदेखेपछि हामीले बन्द गर्न भनेका थियौँ, तर सञ्चालनमै रहेको भेटियो, यस्तो उजुरी पनि आएपछि हामी त्यहाँ गएका हौँ,’ उपमेयर पाख्रिनले सर्लाही न्युजसँग भनिन्, ‘हामीले पोलिक्लिक खोल्न मात्र मापदण्ड दिएका थियौँ। तर १५ बेडको अस्पतालको मापदण्ड थिएन। बाहिर बाहिरको डाक्टरको नाम लेखे पनि नल्याएको भेटिएको थियो।’
अस्पताल भन्छ- नगरपालिकाले बढी नै ज्यादती गर्यो
तर उक्त मनीषा हेल्थ केयरका सञ्चालक डा. राजीव झा भने नगरपालिकाले दादागिरी गरेको आरोप लगाउँछन्। ‘आफूहरूले बिरामीलाई उपचार गर्दा पनि डाक्टर कुटिनु भनेको नगरपालिका र तिनका कर्मचारीको अत्याचार हो,’ झाले सर्लाही न्युजसँग भने।
ड्युटीमा रहेका डाक्टरहरूमाथि हातपात हुनुलाई आफूहरूले गम्भीर रूपमा लिएको उनको भनाइ थियो। साथै प्रहरी प्रशासनले समेत आफूहरूलाई असहयोग गरेको उनले गुनासो गरे।
नगरपालिकाले जेजस्तो भने पनि आफूहरूले नगरपालिकाले बनाइदिएको मापदण्डमा रहेका अस्पताल सञ्चालन गरेको उनले प्रस्ट पारे। ‘हामीले हाम्रो अस्पतालमा शान्ति कायम राख्न चाहेकोले बिलको एक अंश मात्र तिर्ने अनुमति दिएका थियौँ, तर त्यसको भोलिपल्ट लालबन्दी नगरपालिकाककी उपमेयर, प्रशासन प्रमुख र स्वास्थ्य विभागका प्रमुखसहितको उपमेयरको टोलीले मेरो अस्पताललाई सिल गरे,’ डा झाले गुनासो गर्दै भने, ‘ड्युटीमा रहेका डाक्टरलाई कुटपिट गरी प्रहरी चौकीभित्र पनि राखिएको थियो।
‘बिरामीसँग बढी पैसा लियो भन्दैमा डाक्टर नै कुट्ने यो कहाँको नियम हो ?’ झाले सोधे, ‘यदि बढी पैसा लिएको भए कानुन छ नि त।’
नगरपालिकाका योजना अधिकृतको ठक्करबाट दुर्घटना भएको र सित्तैमा उपचार खोज्न आएकाहरूले डाक्टरमाथि हातपात गरेका उनले आरोप लगाए। ‘यो घटना नगरपालिकाका योजना अधिकृतले गराएका हुन्, नगरपालिकाले उपचार खर्च बेहोर्नुपरेपछि हामीमाथि हातपात भएको हो,’ सञ्चालक झाले सर्लाही न्युजसँग बताए।
यता नेपाल चिकित्सक संघ जनकपुर शाखाले चिकित्सकमाथि भएको घटनाको भर्त्सना गरेको छ। आज एक विज्ञप्ति जारी गर्दै चिकित्सक संघले घटना अत्यन्त दुःखद् र अशोभनीय भएको बताएको छ। घटनाको निन्दा गर्दै संघले चिकित्सकमाथि हातपात गर्नेहरूलाई कडाभन्दा कडा कारबाहीको माग गरेको छ। यदि कारबाही नभए चिकित्सक संघले आन्दोलनको घोषणा गर्ने पनि बताएको छ।
भिडियो :