उपभोक्तालाई शुद्ध पेट्रोलियम पदार्थ सहज र सुरक्षित उपलब्ध गराउने, यससँग जोडिएका सडक पूर्वाधार तथा सडक उपयोगको सुविधा व्यवस्थापनका लागि हामी प्रतिबद्ध छौँ। यसका लागि तत्काल, मध्यकाल र दीर्घकाल गरी चरण चरणमा काम गर्नु पर्ने अवस्था छ। सुधारका यी चरणमध्ये पहिलो चरणको कामबाट नतिजा आएको छ। तत्काल सुधार गर्न सकिने कामको अध्ययन गर्न महानगरपालिकाको संयोजकत्वमा नेपाल आयल निगम, सडक विभाग, नेपाली सेना, नेपाल प्रहरी, उपत्यका ट्राफिक प्रहरी, सडक विभाग, जिल्ला प्रशासन कार्यालय, पेट्रोलियम डिलर्स एशोसियसनका प्रतिनिधिसहितको टोलीले दिएको प्रतिवेदनमा उल्लेख भएका सुझावका आधारमा अहिले महानगरपालिकाभित्रका सबै पेट्रोल पम्पहरूको पहिचान पहेँलो रङ्ग सङ्केतमा देख्न सकिन्छ।


पम्पहरूले सबैका लागि सफा शौचालय निःशुल्क उपलब्ध गराएका छन्। यसको सङ्केत चिन्हका रूपमा महानगरपालिकाले नीलो पृष्ठभूमिमा निःशुल्क शौचालय लेखिएको गोलो परिचय पाटी राखिएको छ। भाडाका सवारी साधनका चालक तथा सहचालकले आफू खुसी रूपमा नोजल समाउने र इन्धन भर्ने काममा प्रतिबन्ध लगाइएको छ। यसअघि पम्पहरूमा हरियाली नदेखिएको, भएका गमलामा पनि फूल नभएको, अग्नि सुरक्षा उपकरणहरू दुरुस्त नभएको, अग्नि सुरक्षा उपकरणको सञ्चालन विधि तथा सो उपकरणको कामको बारेमा शिक्षा र प्रयोग विधि थाहा नपाएको, पम्पका भित्ताहरूमा विभिन्न ब्रान्डका विज्ञापन तथा भित्ते लेखन गरेर कुरूप बनाइएको थियो ।



इन्धन भर्न बस्ने नोजल ब्वाइले सुरक्षाका लागि खैरो रङ्गको व्यक्तिगत सुरक्षा पोसाक÷सामग्री (पिपिई) लगाउने प्रतिबद्धता कार्यान्वयनको चरणमा छ। काठमाडौँ जिल्लामा करिब १२३ वटा पेट्रोल पम्प छन्। यीमध्ये काठमाडौँ महानगरपालिकामा बागमती पेट्रोलियम डिलर्स एसोसियसनमा दर्ता रहेका ५० वटा पेट्रोल पम्पहरू छन्। अहिले काठमाडौं महानगरपालिका भित्रका ५० पेट्रोल पम्पका सबै पेट्रोल पम्पका कम्तीमा २ देखि ६ वटा सम्म शौचालयहरू सर्वसाधारणको लागि निशुल्क रूपमा खुल्ला गरिएको छ।



‘पेट्रोलियम पदार्थ विक्रेता नियमावली २०७५ (प्रथम संशोधनसहित)’ अनुसार काठमाडौँ र ललितपुर महानगरपालिकाभित्र पेट्रोल पम्प सञ्चालन गर्न ७५० वर्ग मिटर वा १ रोपनी ८ आना क्षेत्रफल भएको जग्गा आवश्यक पर्छ। यसमा सडक तर्फको मोहडा कम्तीमा २० मिटर हुनुपर्छ। भौतिक पूर्वाधारसहित विक्रीस्थलको मापदण्ड पूरा भएको हुनुपर्छ। विक्री स्थलको भित्र ३ तर्फ पम्प बिल्टअप लेवलबाट १.२० मिटर अग्लो सिमेन्टको जोडाईमा ईट्टा वा ढुङ्गाको पर्खाल लगाएको र त्यसमाथि ०.९० मिटर अग्लो चेनलिङ्क फेन्सिङ्ग लगाएको हुनुपर्छ। रिफ्युलिङ्ग जोनको सेड, सतही ढल, रोड सेफ्टी कर्ब स्टोन एजिङ्ग, वफर स्ट्राईप, डिस्पेन्सिङ्ग पम्प जडान लगायतका संरचना तथा पूर्वाधार हुनुपर्छ।

